CLICK HERE

एअर काष्ठमन्डपको विमान कसरी भयो दुर्घटना ?, यस्तो छ घाइते यात्रुको ‘बयान’

काठमाडौं, फागुन १४ । नेपालगन्जबाट जुम्लाका लागि उडेको एअर काष्ठमन्डपको विमान कालिकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको हो । शुक्रबार दिउँसो १ बजे उक्त विमान दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिए ।

सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो । ‘ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो’–प्रत्यक्षदर्शी कटुवालले भने ।

खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफैं बाहिर निस्केका थिए । ‘जहाजको ढोका आफैं खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए’–उनले भने ।

चालकदलका एक सदस्यको विमानभित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाइघन्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्यचौकीका अहेव जंगबहादुर रावलले जानकारी दिनुभयो ।

‘एकजनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन’–अहेव रावलले भने ।

चालकदलका अर्का सदस्यको विमान दुर्घटनाको अढाइघन्टापछि मृत्यु भएको उनले बताए ।

‘बाहिर निकालेको एक घन्टासम्म दुख्यो–दुख्यो भनेर कराइरहनुभएको थियो’–अहेव रावलले भने–‘हामीले सक्दो उपचार गर्‍यौं तर बचाउन सकिएन । समयमै हेलिकोप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।’

विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधाघन्टा टाढा रहेको स्वास्थ्यचौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।

चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरेका थिए । घाइते ९ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् ।

घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए ।

अरु यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका–६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका–८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ–५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ–६ का मेघराज गिरी, चन्दननाथ–५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस–३ घर भइ हाल काठमाडौं स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ ।

‘सबैजना होसमै छन्’–उपचारमा संलग्न अहेव रावलले भने । घटनास्थलमा तीनघन्टा टाढाको पादमघाट प्रहरीचौकीबाट चारजना प्रहरी आएका छन् ।

घाइते यात्रुकाअनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए ।

‘जहाजको अवस्था ठीक छैन, तपाइँहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौं, हामी मरेपनि तपाइँहरुलाई बचाउँछौं’–घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भने ।

चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालकदलका दुबै सदस्यले ज्यान गुमाउनुपर्‍यो ।

एअर काष्ठमन्डपको ‘९ एन ए जेबी’को विमान नेपालगन्जबाट ९ जना यात्रु लिएर शुक्रबार दिउँसो १२ः३० बजे जुम्लाका लागि उडेको थियो । रासस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment